काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतका नयाँ राजनीतिक शक्ति अहिलेको नेपाली राजनीतिक परिदृश्यमा पानीका फोका जस्तै क्षणिक भएको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश र बागमती सम्पर्क कमिटीको संयुक्त भेलामा सम्बोधन गर्दै बस्नेतले नयाँ दलहरूको उदय देशको ठोस राजनीतिक विचार वा सङ्गठनमा आधारित नभई जनताको असन्तोष र निराशामा टेकेको क्षणिक घटना भएको बताए। उनले भने, ‘यी रवि, बालेनहरू पानीका फोका हुन्। सामाजिक सञ्जालको भ्रम र विदेशी शक्तिले खडा गरेका क्षणिक पात्र मात्र हुन्। यी सडेका, गलेका र कुहिएका अनुभवहरू हुन्।’

advertisement

बस्नेतले सामाजिक सञ्जालको भर्चुअल दुनियाँ र वास्तविक धरातलीय यथार्थ फरक रहेको भन्दै एमाले कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे। उनले थपे कि निर्वाचनमा एमालेको एकल बहुमत ल्याउन रोक्न विदेशी शक्तिहरूले नयाँ दल र पात्रहरू खडा गरेको आरोप लगाएका छन्। बस्नेतका अनुसार, ‘मिसन ८४ अन्तर्गत एमालेलाई रोक्न यी पात्रहरू अगाडि सारिएका हुन्, तर एमाले यो भ्रम चिरेर अघि बढ्छ। कसैले एमालेलाई रोक्न सक्दैन।’

रास्वपा सभापति लामिछानेप्रति आक्रामक देखिंदै उनले भने, ‘रवि लामिछानेले स्वतन्त्र पार्टी खोलेर राष्ट्रियता बलियो बनाएका होइनन्, बरु राष्ट्रियता झुकाउने काम गरेका छन्।’

बस्नेतले नयाँ दलहरूसँग स्पष्ट राजनीतिक विचार, गन्तव्य र अडान नभएको पनि औंल्याए। एमालेविरुद्ध चौतर्फी चुनौती आए पनि पार्टी अझै सशक्त रहेको स्मरण गर्दै उनले अब पार्टीले रक्षात्मक नभई आक्रामक रणनीति अपनाउने बताए।

साथै, सामाजिक सञ्जालको भ्रम चिर्न र अराजकता नियन्त्रण गर्न साइबर सर्कल र युथ फोर्स जस्ता संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com