काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।
निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिन पाउने व्यवस्था गरेको थियो। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय छ। समानुपातिक सूचीमा रहेका उम्मेदवारले आफैं वा उपस्थित नभएको अवस्थामा वारेसमार्फत नाम फिर्ता लिन पाउने व्यवस्था आयोगले राखेको थियो।
आयोगका अनुसार, जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवारले नाम फिर्ता लिएका छन्। जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जनाले आफ्नो नाम फिर्ता लिएका छन्।
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकोले बन्दसूची मिलाउन केही उम्मेदवारको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ। आयोगले अन्तिम सूची सार्वजनिक गर्दा थप केही नाम थपिन सक्ने जानकारी पनि दिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ६४ राजनीतिक दलले बन्दसूची पेश गरेका थिए। आयोगले पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेश गर्न समय दिएको थियो। प्रतिनिधिसभामा कुल २७५ सदस्य रहनेछन्, जसमा समानुपातिक प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ सदस्य निर्वाचित हुने व्यवस्था छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया