काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रस्तुत दस्तावेज र त्यसमाथि भइरहेको बहसप्रति गम्भीर आपत्ति जनाएका छन् । गगन थापाको नाम नलिइकनै उनलाई लक्षित गर्दै ज्ञवालीले संविधान र राष्ट्रियतामाथि भएका आक्रमणलाई जायज ठहर्‍याउने प्रवृत्तिले देशलाई कहाँ पुर्‍याउँछ ? भन्दै प्रश्न गरेका हुन् ।

ज्ञवालीले जारी विशेष महाधिवेशनका बहस, विमर्श र विवादलाई लोकतान्त्रिक आन्दोलनका सहयात्रीका रूपमा नजिकबाट नियालिरहेको उल्लेख गर्दै कांग्रेस मतभेदलाई सुझबुझपूर्ण ढंगले समाधान गर्दै अझ एकताबद्ध र सुदृढ बन्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् । तर, कतिपय नेताका अभिव्यक्ति र पेस गरिएका दस्तावेजमा उठाइएको एउटा विषय भने अत्यन्त गम्भीर रहेको उनको भनाइ छ । ‘भदौ २४ गते मुलुकमा घटेको विध्वंस र त्रासदीप्रति देखिएको रहस्यमय मौनता वा तुष्टिकरण चिन्ताजनक छ,’ उनले भनेका छन् ।

advertisement

उनका अनुसार समाजमा असन्तुष्टि हुनु स्वाभाविक हो र युवाहरूको समाज, सत्ता र संस्थासँगको दूरी पनि केही हदसम्म बढेको सत्य हो । भदौ २३ गते पूर्वाह्नमा देखिएको असन्तुष्टि भद्र प्रदर्शनका रूपमा प्रकट भएको भए पनि अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरूको नियन्त्रणमा रह्यो, न शान्तिपूर्ण नै बनिरह्यो । ‘प्रदर्शनभित्र घुसपैठ गरी त्यसलाई रक्तपातमा रूपान्तरण गर्ने र युवाहरूलाई मानवढाल बनाउनेहरूलाई पनि ‘जेन्जी आन्दोलनकारी’ भनेर उही श्रेणीमा राख्ने हो भने भोलिपल्ट भएको देशदहनलाई पनि परोक्ष रूपमा उचित ठहर्‍याइन्छ,’ ज्ञवालीको भनाइ छ । यस्तो दृष्टिकोणले अपराधलाई वैधता दिने खतरा रहेको उनले चेतावनी दिएका छन् ।

ज्ञवालीले हाल समाजमा देखिएका असन्तुष्टिहरूको उदाहरण दिँदै भनेका छन्—चार महिना नबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ । ऊर्जा व्यापारमा भएका घोटाला, घाइतेहरूको उपचारप्रति गरिएको बेवास्ता, गैरकानुनी काममा संलग्नहरूलाई दिइएको संरक्षण तथा मन्त्रीहरूका विवादास्पद निर्णय र अभिव्यक्तिले जनआक्रोश बढाएको उनले बताए । स्वयं ‘जेन्जी अभियन्ता’हरू पनि असन्तुष्ट रहेको उल्लेख गर्दै उनले प्रश्न गरे—’के यसैको बहानामा फेरि सिंहदरबार जलाउनु उचित हुन्छ ?’

उनले स्पष्ट पारे—अराजकता र आन्दोलन एउटै होइनन्, विध्वंस र विद्रोह पनि समान होइनन् । आन्दोलन, विद्रोह वा क्रान्तिका आफ्नै नैतिक मूल्य र सीमाहरू हुन्छन् । नेतृत्वका गल्ती आज भए, भोलि अर्को नेतृत्वबाट पनि हुन सक्छन्, तर त्यसको आडमा लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई जायज ठहर्‍याउन थालियो भने देश गलत दिशातर्फ धकेलिने ज्ञवालीको निष्कर्ष छ ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com