काठमाडौं । राजनीतिज्ञ सुमन सायमीसहितका केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा रहेका सायमी चुनाव नजिकिँदै गर्दा नेकपामा प्रवेश गर्न लागेका हुन्।
सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको पुष्टि गर्दै ‘भोलि औपचारिक एकता हुँदैछ,’ भनी जानकारी दिएका छन्। एकता घोषणा सभा भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिने बताइएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। चुनावपछि उनी स्वतन्त्र राजनीतिक अभियानमा सक्रिय रहँदै स्वतन्त्र तथा वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा जुटेका थिए।
त्यसै वर्ष भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनले काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। सो निर्वाचनमा सायमीले ६ हजार १७९ मत पाएका थिए।
पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध थिए। उक्त पार्टीमा उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।
अब २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा रहेका सायमी नेपाली कम्युनिस्ट पार्टीको ब्यानरबाट अगाडि बढ्ने तयारीमा छन्।
५२ वर्षीय सायमी काठमाडौँको कालीमाटी निवासी हुन्। काठमाडौँका रैथाने समुदायबीच उनी परिचित र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया