काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापाबाट चुनाव लड्ने चर्चाप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन्।

आगामी संसदीय निर्वाचनमा मेयर शाह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्न सक्ने चर्चा चलेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन्।

advertisement

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्याललाई काल आयो भने बजार पस्छ भन्ने उखानजस्तै, काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको र विदेशीको मतियार भन्दै आलोचित व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ। यदि यो सत्य हो भने, निर्वाचनमा लज्जास्पद पराजय निश्चित छ।’

उनले बालेन शाहले आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक प्रभाव विस्तार गर्न नसकेको आरोप लगाउँदै ‘फेसबुकिया प्रधानमन्त्री’ र ‘विदेशीको मतियार’को संज्ञा दिएका छन्।

झापाबाट चुनाव लड्ने चर्चालाई थप व्यङ्ग्य गर्दै बस्नेतले लेखेका छन्, ‘यदि यो कुरा सही ठहरियो भने, निर्वाचनमा पराजय भोगेपछि गायकबाट राजनीतिमा आएका यी पात्रले राजनीतिक जीवनबाट विदा लिएर पुरानै पेसातर्फ फर्कनुपर्ने अवस्था आउन सक्छ।’

पछिल्लो समय सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा मेयर शाहले आगामी निर्वाचनमा एमाले अध्यक्ष ओलीविरुद्ध झापाबाट प्रतिस्पर्धा गर्न सक्ने अड्कलबाजी चलिरहेको छ। सोही सन्दर्भमा एमाले नेता बस्नेतले बालेनको राजनीतिक भविष्यलाई लिएर प्रश्न उठाउँदै चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com