काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको भेटवार्ता निष्कर्षविहीन रूपमा सकिएको छ । देउवा निवासमा बुधबार बिहान भएको छलफलमा कुनै ठोस सहमति जुट्न नसकेको हो ।
यसअघि भएका संवादहरू पनि परिणामविहीन भएपछि सभापति देउवाले महामन्त्रीद्वयलाई पुनः छलफलका लागि बोलाएका थिए । तर, करिब ४५ मिनेट चलेको भेटमा समेत साझा निष्कर्ष निस्कन सकेन ।
छलफलका क्रममा महामन्त्रीद्वयले सभापति देउवाको पछिल्लो सक्रियताप्रति चासो र असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा देउवाको उपस्थितिले सम्मान बढेको उल्लेख गर्दै त्यसपछि पुनः सक्रिय हुनु उपयुक्त नभएको धारणा राखेका थिए । ‘त्यसरी आउनु सम्मानजनक थियो, तर फेरि सक्रिय हुँदा सम्मान घट्छ । निष्क्रिय रहनु उपयुक्त हुन्छ,’ भन्दै महामन्त्रीद्वयले सभापतिलाई आग्रह गरेका थिए ।
सभापतिसँगको वार्ताबाट ठोस निर्णय नआएपछि महामन्त्रीद्वयले निर्वाचन समितिलाई जानकारी गराई निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार मंगलबार वार्ता टोलीसँग भएको सहमतिबाट समेत सभापति देउवा पछि हटेपछि महामन्त्रीद्वय वार्ता छोडेर बाहिरिएका हुन् । यससँगै अब विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्ने उनीहरूको दाबी छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया