भैरहवा । भैरहवाबाट काठमाडौं जाने क्रममा रहेको बुद्ध एयरको उडानमा एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान केही समयका लागि ढिला भएको छ।
बुद्ध एयरका अनुसार आजको निर्धारित उडान नं. ८५२ (जहाज नं. ९एन-एएमडी) मा सवार सुमन गौतम नामका यात्रुले आकस्मिक ढोका खोलेका थिए, जसपछि उडान तत्काल स्थगित गरिएको थियो।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले घटनाबारे जानकारी दिँदै भने, ‘यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोल्दा जहाजको सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण आवश्यक पर्छ। त्यसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ।’
घटनामा संलग्न यात्रु तत्कालै विमानस्थल सुरक्षाकर्मीको नियन्त्रणमा लिइएको छ। प्राविधिक परीक्षण सम्पन्न भएपछि जहाज सुरक्षित ठहरिएपछि मात्रै उडान पुनः सञ्चालन गरिने उनले बताए।
बुद्ध एयरका अनुसार, घटनाका कारण उडान केही समयका लागि ढिला भए पनि यात्रुहरूलाई आवश्यक सूचना दिइएको छ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया