काठमाडौं । पार्टीबाट निष्कासनमा परेपछि गगन थापाले नेपाली कांग्रेसलाई एकताबद्ध राख्न अनेक प्रयास गरे पनि ती प्रयास सफल हुन नसकेको बताएका छन्।
संस्थापन पक्षले कारबाहीको निर्णय सार्वजनिक गरेलगत्तै भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी नेतृत्वलाई पर्याप्त रूपमा बुझाउन आफू असफल भएको स्वीकार गरे।
मैले नेतृत्वलाई बुझाउन सकिनँ, थापाले भावुक हुँदै भने। उनका अनुसार आज बिहान मात्रै सभापति शेरबहादुर देउवासँग भेटेर विशेष महाधिवेशनको आवश्यकता र उद्देश्य स्पष्ट पार्ने प्रयास गरिएको थियो, तर त्यो प्रयास सफल हुन सकेन।
‘२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो वैधानिक अधिकार प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरेका हुन्,’ थापाले भने, ‘म यहाँ पाहुनाका रूपमा आएपछि र महामन्त्रीको जिम्मेवारीमा रहेकाले आवश्यक पहल गर्नु स्वाभाविक थियो। तर बाहिर जति समझदारी देखिए पनि अन्ततः निर्णय हलमै हुनुपर्छ।’
थापाले विशेष महाधिवेशनपछि ‘कांग्रेस बदलिएको छ’ भनेर गर्वका साथ भन्न सकिने अवस्था बनाउने प्रस्ताव आफूले सभापति देउवासमक्ष राखे पनि त्यसमा कुनै सुनुवाइ नभएको बताए।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया