काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिने मतदान अधिकृतको काम, कर्तव्य र अधिकारबारे आमनागरिकमा चासो हुनु स्वाभाविक छ। यसै सन्दर्भमा निर्वाचन आयोगले मतदान अधिकृतको भूमिका स्पष्ट रूपमा तोकेको छ।

आयोगद्वारा जारी गरिएको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि अनिवार्य रूपमा निर्वाचनसम्बन्धी प्रशिक्षणमा सहभागी हुनुपर्नेछ। साथै, निर्वाचन सामग्री, मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था गरिएको छ।

advertisement

मतदान अधिकृतले आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीसँग समन्वय गर्दै निर्धारित समयमा मतदान केन्द्रमा पुगेर केन्द्र निर्माण गर्नुपर्नेछ। सुरक्षा, भौगोलिक कठिनाइ वा अन्य मनासिब कारणले तोकिएको स्थानमा मतदान गराउन नसकिने अवस्था आएमा तत्काल निर्वाचन अधिकृतलाई जानकारी दिई वैकल्पिक मतदान केन्द्र स्थापना गर्नुपर्ने प्रावधान पनि निर्देशिकामा छ।

मतदानको अघिल्लो दिन मतदाता परिचयपत्र वितरण गर्ने, कर्मचारी तथा स्वयंसेवकलाई कामको बाँडफाँट गर्ने, मतपत्रमा हस्ताक्षर गरी मतदातालाई वितरण गर्ने जिम्मेवारी मतदान अधिकृतकै हुने उल्लेख गरिएको छ। मतदान प्रक्रिया प्रभावकारी बनाउन मतदान कार्यको निरन्तर अनुगमन गर्ने र मतदानको दिन गतिविधिबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

मतदानको दिन मतदान केन्द्रमा आउने घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता तथा सुरक्षाकर्मीलाई मतदानको अवस्थाबारे जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउने तथा कुनै पनि गैरकानुनी गतिविधि हुन नदिनु मतदान अधिकृतको दायित्व हुनेछ।

मतदान सुरु हुनुअघि र सम्पन्न भएपछि मुचुल्का तयार गरी शिलबन्दी गरिएको मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित रूपमा निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसारको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको प्रमुख कर्तव्य हुने निर्देशिकामा उल्लेख छ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com