काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा खटिने निर्वाचन प्रहरी भर्नाको आवेदन दिने समय थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले पुस १४ गते पहिलोपटक १ हजार ४२९ जना निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टका अनुसार भर्ना प्रक्रियालाई थप प्रतिस्पर्धी बनाउन माघ २ र ३ गतेसम्म आवेदन दिने समय थप गरिएको हो। ‘भर्ना छनोटलाई प्रतिस्पर्धी बनाउन दुई दिन म्याद थप गरी दरखास्त आह्वान गरिएको छ,’ उनले बताए।
रामेछापमा नेपाल प्रहरीले १ हजार ३३३ जना र सशस्त्र प्रहरीले ९६ जना निर्वाचन प्रहरी भर्ना गर्ने योजना बनाएको छ। अपेक्षाकृत कम आवेदन परेपछि अन्य जिल्लाहरूले पनि आवेदन दिने समय थप गर्दै सूचना प्रकाशन गरिरहेका छन्।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, कास्की र स्याङ्जा जिल्लामा पनि मागअनुसार प्रतिस्पर्धी नपुगेपछि आवेदन म्याद थप गरिएको हो। निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारहरूले बिदाका दिनमा समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया