काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि अझै आक्रमण रोकिएको नभएको बताएका छन्।
उनी शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
अध्यक्ष ओलीका अनुसार पछिल्लो समय धम्कीको वातावरणमा निर्देशित भएर निर्णय लिनुपर्ने र अपराध कर्मलाई सामान्य ठहर गर्नुपर्ने अवस्था आएको छ। उनले भने, ‘न्याय निरूपण गर्ने निकायहरू त्रासमा छन्। त्रासका कारण निर्देशित भएर निर्णय लिनुपर्ने अवस्था छ। यति स्पष्ट हुँदाहुँदै पनि निर्वाचन आयोग बसेको छ।’
कांग्रेसको आन्तरिक विवादबारे उनले भने, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशन किन भएको छैन? कसले बोलाउने भन्ने अवस्था अझै अस्पष्ट छ। बहुमत–अल्पमत कायम गर्ने झगडा पनि देखिन्छ।’
ओलीले कांग्रेस पार्टी विभाजनको स्थितिमा पुगेको देखेर दुःख र चिन्ता लागेको र नेताहरूले जानी बुझी किन यस्तो गरिरहेका छन् भन्नेमा आश्चर्य व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले थपे, ‘यस बेलामा जतिबेला संविधान कुल्चिएको छ, प्रणाली कमजोर भएको छ, त्यसबारे लड्नुपर्ने बेला हो। तर कांग्रेस अनावश्यक पार्टी फुटाउनतिर लागेको देखिन्छ। अहिले देश र लोकतन्त्रका लागि एमाले नेता–कार्यकर्ताले संघर्ष गर्नुपर्ने समय हो।’
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया