काठमाडाैं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय सदस्य रामेश्वर राना र क्षेत्र नम्बर–२ बाट निवर्तमान सांसद महेशकुमार बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

मकवानपुर–२ बाट पुनः उम्मेदवार बनेका बर्तौला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। पहिलोपटक संसदीय चुनाव लडेका उनले गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई करिब चार हजार मतान्तरले पराजित गरेका थिए। अघिल्लो निर्वाचनमा देखाएको प्रदर्शन, संगठनभित्रको पकड र संसदीय अनुभवलाई आधार मानेर एमालेले यसपटक पनि उनलाई नै दोहोर्‍याएको जनाएको छ।

advertisement

सो क्षेत्रमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीको नाम समेत उम्मेदवारका रूपमा सिफारिस भए पनि पार्टीले अन्ततः बर्तौलालाई नै अघि बढाउने निर्णय गरेको हो। पहिलो कार्यकालमै बर्तौला संसदीय राजनीतिमा प्रभावशाली रूपमा स्थापित हुँदै सत्तापक्ष तथा एमालेका प्रमुख सचेतकसमेत बनेका थिए।

उता, मकवानपुर–१ मा एमालेले गुमेको साख पुनःस्थापना गर्ने उद्देश्यसहित रामेश्वर रानालाई उम्मेदवार बनाएको छ। २०७९ को निर्वाचनमा एमालेले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गर्दै उम्मेदवार बनाएको थियो। तर सो निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंह विजयी हुँदा थापा तेस्रो स्थानमा सीमित भएका थिए। त्यसबेला रानालाई दिइएको टिकट फिर्ता लिएर थापालाई उम्मेदवार बनाइएको थियो।

लगातार जित्दै आएको क्षेत्र गुमेपछि एमालेले यसपटक संगठनभित्रको अनुभवी र प्रभावशाली नेतालाई मैदानमा उतारेको छ। केन्द्रीय सदस्य रानालाई उम्मेदवार बनाएर मकवानपुर–१ मा पार्टीको संगठनात्मक पकड बलियो बनाउने एमालेको रणनीति रहेको नेताहरू बताउँछन्।

मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। २०७४ सालको निर्वाचनमा एमालेले दुवै क्षेत्रमा विजय हासिल गरेको थियो। त्यतिबेला क्षेत्र नम्बर–१ बाट कृष्णप्रसाद दाहाल र क्षेत्र नम्बर–२ बाट विरोध खतिवडा निर्वाचित भएका थिए। दाहालले तत्कालीन राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए भने खतिवडाले कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ लाई हराउँदै प्रतिनिधिसभामा प्रवेश गरेका थिए।

तर २०७९ को निर्वाचनसम्म आइपुग्दा राजनीतिक समीकरण फेरियो। खतिवडा एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) तर्फ लाग्दै गठबन्धनका साझा उम्मेदवार बने। तर उनी आफ्नै पार्टीका पूर्व कार्यकर्ता तथा चेला मानिने महेशकुमार बर्तौलासँग पराजित भएका थिए।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com