दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई पछाडि फर्काउने प्रयासविरुद्ध आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर पोखरेलले मनोनयन पत्र दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजी आन्दोलनका नाममा राष्ट्रलाई हिंसाको क्रिडास्थल बनाउने प्रयास भइरहेको बताउँदै त्यसविरुद्ध आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे। उनले आन्दोलनका नाममा महत्वपूर्ण सम्पदाहरू छोटो अवधिमा नष्ट गरिएको दाबी पनि गरे।
पोखरेलले जेनजी आन्दोलनलाई विस्फोटक रूपमा प्रयोग गर्न ३३ प्रतिशत सामाजिक सञ्जालका फेक एकाउन्टहरू प्रयोग गरिएको विदेशी संस्थाको सर्वेक्षणले देखाएको जानकारी पनि दिए।
पोखरेलले २०५१ सालमा दाङ–३ बाट नेपाली कांग्रेसका नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए। २०५६ को चुनावमा कांग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित भएपछि २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बनेका थिए। २०७० को दोस्रो संविधान सभा चुनावमा कांग्रेस नेता बुद्धिराम भण्डारीसँग पराजित भएका पोखरेल २०७४ सालमा लुम्बिनी प्रदेश सांसद बने र त्यसपछि प्रदेशको मुख्यमन्त्री समेत भए। २०७९ सालमा महासचिव पोखरेल रेखा शर्मासँग पराजित भएका थिए।
यसपटक दाङ–२ बाट कांग्रेसका किरणकिशोर घिमिरे, नेकपा (एमाले) का निर्मल आचार्य र रास्वपा सहमहामन्त्री विपिन आचार्य चुनावी मैदानमा छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया