पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनाङमा उम्मेदवारी घोषणा गरेको छैन। प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मंगलबारसम्म मनाङमा जम्मा पाँच जनाले मात्र मनोनयन दर्ता गराएका छन्।
‘समय सकियो। हालसम्म पाँच जनाले मात्रै मनोनयन दर्ता गराउनुभएको छ,’ उनले जानकारी दिए।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ मैदानमा छन्।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तर्फबाट यशोदा गुरुङ सुवेदीले आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन्। यशोदा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले पनि उम्मेदवारी दर्ता गराएका छन्।
मनाङमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबिच हुने देखिएको छ। एमालेका पोल्देन यसअघि २०७९ को निर्वाचनमा टेकबहादुर गुरुङसँग पराजित भएका थिए र यसपटक पनि यी दुई चिरपरिचित प्रतिद्वन्द्वी बिच मुख्य भिडन्त हुने अनुमान गरिएको छ।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीका अनुसार अनिल गुरुङलाई टिकट दिइएको थियो। उनले भने, ‘उहाँलाई टिकट दिइएको हो, तर अहिले उहाँको मोबाइल अफ छ। साथीहरूसँग बुझ्दा जाँदै हुनुहुन्छ भन्ने सुनेको छु।’
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया