काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो र जमानीबिनाका व्यक्तिलाई मतदान गरेर मत खेर नहाल्न मतदातासँग आग्रह गरेका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदानलाई जिम्मेवार निर्णयसँग जोड्दै यस्तो भनाइ राखेका हुन्।
अध्यक्ष ओलीले बैंकले पनि धितो–जमानी बिना नोट नछाप्ने उदाहरण दिँदै मत हाल्दा पनि भरोसायोग्य र परीक्षण भइसकेका व्यक्तिलाई मात्र भोट दिनुपर्ने बताए। २०६४ सालमा नचिनेका व्यक्तिलाई मत दिँदा देश विकासमा पछि परेको अनुभवबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो।
उनले आफूले महोत्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअगाडि सडक र पुल निर्माण गरिदिएको स्मरण गराउँदै झापाका लागि साहले के योगदान दिएका छन् ? भनेर प्रश्न गरे। काठमाडौंमा सुकुम्बासीलाई उठिवास गराएको देखेर झापाका सुकुम्बासीहरूमा आफूहरू पनि विस्थापित हुने डर पैदा भएको गुनासो आएको दाबी पनि उनले गरे।
अध्यक्ष ओलीले हरेक निर्वाचन क्षेत्रमा ‘पर्यटक उम्मेदवार’ होइन, स्थानीय समस्याबारे जानकार र जनतासँग जोडिएका स्थानीय उम्मेदवारलाई नै जिताउनुपर्नेमा जोड दिए। नेकपा एमाले केवल बहुमत ल्याउन, सांसद, मन्त्री वा प्रधानमन्त्री बन्नका लागि मात्र नभई देश जोगाउन, शान्ति–सुव्यवस्था कायम गर्न र संविधानलाई सही लयमा ल्याउन संघर्षरत रहेको उनले बताए।
बालेन्द्र साह उम्मेदवार मात्र भएकाले त्यसले ठूलो असर नपार्ने भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम र तुवाँलोबाट मुक्त भएर विवेकपूर्ण निर्णय गर्न पनि मतदातालाई आग्रह गरे।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया