काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रभावकारी सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्य–दृश्य माध्यममार्फत सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी सबै तहका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

advertisement

उनले चेतावनी दिँदै भने, “आ–आफ्नो कार्यक्षेत्रमा कुनै पनि प्रकारका आपराधिक गतिविधि हुन नदिन सूचनाको समयमै सङ्कलन गरी आवश्यक सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ।”

प्रहरी प्रधान कार्यालयका अनुसार महानिरीक्षक कार्कीले अपराध अनुसन्धानलाई तीव्र बनाउने, सीमा नाकाबाट हुने राजस्व चुहावट नियन्त्रण गर्ने, अवैध हातहतियार बरामद गर्ने, ट्राफिक व्यवस्थापन सुदृढ गर्ने तथा फरार प्रतिवादीको पक्राउलाई विशेष प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पनि निर्वाचन अवधिमा खटिने प्रहरी कर्मचारीलाई परिस्थितिअनुकूल आफूलाई ढालेर जिम्मेवारी पूरा गर्न आग्रह गरे।

भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेशका प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com