काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि नेपालमा मौसम बदली हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यतः पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुने बताए। ढकालका अनुसार सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा सुरु हुनेछ भने राति उच्च पहाडी र हिमाली भूभागमा मध्यम हिमपात हुने सम्भावना छ।
उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकी प्रदेशका थोरै भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी पनि दिए। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनाको सम्भावना रहेको विभागले जनाएको छ।
शनिबार केही सुधार भए पनि देशभर मौसम बदलीको असर रहने र चिसो बढ्ने पूर्वानुमान छ। मौसमको यो अवस्था दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई र सडक यातायातमा प्रभाव पार्न सक्ने भएकाले विभागले महाशाखाबाट जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन आग्रह गरेको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया