रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूलाई आफ्नै दलका समर्थक मात्र होइन, अन्य राजनीतिक दलका कार्यकर्ताको समेत व्यापक साथ रहने दाबी गरेका छन्। रुकुम पश्चिमबाट उम्मेदवारी दिएका शर्माले यसपटक नयाँ पार्टी र नयाँ चुनाव चिह्न ‘आँखा’ लिएर जनतामाझ गइरहे पनि कांग्रेस र एमालेका कार्यकर्ताले समेत आफूलाई मत दिने विश्वास व्यक्त गरे।

चार पटकसम्म निर्वाचन जितिसकेका शर्माले संसद् विघटनका कारण अघिल्लो कार्यकालमा अधुरा रहेका काम पूरा गर्न पाँचौँ पटक चुनावी मैदानमा उत्रिएको बताए। आफू सधैँ रुकुमको साझा उम्मेदवारका रूपमा प्रस्तुत हुँदै आएको र निर्वाचित भएपछि राजनीतिक आस्थाका आधारमा कसैलाई पनि विभेद नगरेकाले विपक्षी दलका कार्यकर्ताले समेत ‘हामीलाई अभिभावक चाहियो’ भन्दै फोनमार्फत समर्थन जनाएको शर्माको भनाइ छ।

advertisement

नयाँ दलमा रहे पनि व्यक्तिगत प्रभाव, विगतका काम र जनतासँगको सम्बन्धको मूल्याङ्कन गर्दै अन्य दलका संगठित सदस्यहरूले समेत प्रत्यक्षतर्फको मत आफूलाई दिने प्रतिबद्धता जनाइसकेको उनले दाबी गरे।

राष्ट्रिय राजनीतिमा देखिएको सङ्क्रमणकालीन अवस्थालाई सम्बोधन गर्न र संविधानको रक्षा गर्न पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको शर्माले तर्क गरे। आफू सधैँ जनताको चाहना र मागअनुसार अघि बढ्ने नेता भएको उल्लेख गर्दै यसपटक पनि जनताकै दबाब र उत्साहका कारण उम्मेदवार बनेको स्पष्ट पारे।

रुकुमको विकासमा आफूले पुर्‍याएको योगदान र जनतासँगको प्रत्यक्ष सम्बन्धका आधारमा यसपटक पनि विजय सुनिश्चित रहेको दाबी शर्माले गरेका छन्।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com