काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज काठमाडौँ फर्किँदै छन्।

एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार शनिबार सेयर कारोबारी तथा उद्योगी–व्यवसायी दीपेन्द्र अग्रवालसहितका व्यक्तिहरूको पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा अध्यक्ष ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा हुने बताइएको छ।

advertisement

पार्टी स्रोतका अनुसार ओली आगामी केही दिन काठमाडौँमै रहनेछन् र त्यस अवधिमा विभिन्न जिल्लामा आयोजना हुने निर्वाचन केन्द्रित कार्यक्रमहरूमा सहभागी हुनेछन्।

को हुन् दीपेन्द्र अग्रवाल ?

सेयर बजारका लगानीकर्ता तथा ट्रेडरका रूपमा परिचित दीपेन्द्र अग्रवाल विराटनगर महानगरपालिका–९ का स्थायी बासिन्दा हुन्। उक्त वडा मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर–६ अन्तर्गत पर्छ, जहाँ नेकपा एमालेका विनोद ढकाल र नेपाली कांग्रेसका शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। सो क्षेत्रमा मारवाडी समुदायको उल्लेखनीय बसोबास छ।

अग्रवाललाई यसअघि साउन ५ र पुस ४ गते प्रहरीले पक्राउ गरेको थियो। उनले सञ्चालन गरेका १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खातामार्फत आफैं सेयर खरिद–बिक्री गरी सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा उनी पक्राउ परेका थिए। सेयरको मूल्य निश्चित तहमा पुगेपछि बिक्री गर्ने र धितोपत्र ब्रोकरमार्फत लिनुपर्ने रकम असुल गर्ने तर तिर्नुपर्ने रकम नतिरेको आरोप उनीमाथि लगाइएको थियो।

रकम नतिरेपछि पीडितहरूले धितोपत्र बोर्डमा उजुरी दिएका थिए। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पुस ४ गते दोस्रोपटक पक्राउ गरेको थियो। पुस १४ गते काठमाडौँ जिल्ला अदालतले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com