काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. ५, हाँडीगाउँ (प्राचीन हरिग्राम) स्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वले सम्पन्न भाट भटेनी क्षेत्रका भाट भटेनी तथा बालगोपाल देवताप्रति परापूर्वकालदेखि चलीआएको आस्था, विश्वास, गुठी परम्परा र पूजा विधिलाई वृत्तचित्रमार्फत संरक्षण, अभिलेखीकरण तथा प्रवर्द्धन गरेको उल्लेखनीय योगदानका लागि काठमाडौँ निवासी प्रद्युम्न मिश्र लगायत सम्मानित भएका छन्।

एक विशेष समारोहबीच मिश्रलाई “सम्मान–प्रमाणपत्र” प्रदान गर्दै भाट भटेनी देवताप्रतिको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्न उनले पुर्‍याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरिएको हो। मिश्र निर्माता/निर्देशक तथा छायाङ्कनकर्ताको भूमिकामा रहेर यस क्षेत्रको मौलिक पहिचान भावी पुस्तासम्म सुरक्षित रहने गरी दस्तावेजीकरणमा सक्रिय छन्।

advertisement

समारोहमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले सम्पदा तथा सभ्यता संरक्षणमा राज्य र समाज दुवैको साझा दायित्व भएको बताउँदै यस्ता सृजनात्मक पहलले लोपोन्मुख परम्परालाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

कार्यक्रमको सभापतित्व काठमाडौँ महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र प्रजापतिले गरेका थिए। उनले हाँडीगाउँ क्षेत्रको धार्मिक र सांस्कृतिक धरोहर जोगाउन स्थानीय तह प्रतिबद्ध रहेको स्पष्ट पारे। कार्यक्रम संचालन हरिकृष्ण दाहालले गरेका थिए।

भाटभटेनी देवता पुस्तकका लेखक अर्जुन मणि दिक्षितले भाट भटेनी देवताको ऐतिहासिक पृष्ठभूमि, ‘मोपता अजिमा’का रूपमा रहेको विश्वमै अद्वितीय पहिचान, नेपाल देवी, हाँडीगाउँ देवता तथा आकाश देवीसँगको सम्बन्धबारे प्रकाश पारे।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com