काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निर्वाचनलाई क्रान्तिकारी शक्तिहरूका लागि संघर्षको एक महत्वपूर्ण मोर्चाका रूपमा परिभाषित गरेका छन्।
शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव चन्दले निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक तरंग पैदा भएको बताए। उनका अनुसार क्रान्तिकारी शक्तिहरू देशका विभिन्न भूभागमा सक्रिय रूपमा संघर्षमा जुटिरहेका छन् र त्यसको नेतृत्व गर्ने जिम्मेवारी पार्टीका सबै कार्यकर्ताको काँधमा रहेको छ।
‘वर्तमान अवस्थामा निर्वाचन क्रान्तिकारीहरूका लागि एउटा संघर्षको मोर्चा बनेको छ,’ चन्दले भने, ‘देशैभर उत्साह र अपेक्षासहित सहभागी भइरहेका छौँ। विभिन्न स्थानमा संघर्ष जारी छ र त्यसको अग्रपङ्क्तिमा बसेर नेतृत्व गर्ने जिम्मा हामी सबैको हो।’
महासचिव चन्दले निर्वाचन हुने–नहुने विषयमा सुरुमा बहस भए पनि अहिले त्यो विषय टुंगिएको स्पष्ट पारे। उनले वर्तमान राजनीतिक परिस्थिति अत्यन्त उतारचढावपूर्ण रहेको उल्लेख गर्दै पार्टी स्पष्ट रूपमा निर्वाचनमा सहभागी हुन चाहँदा पनि विभिन्न संरचनागत र राजनीतिक अवरोधहरू देखिएको बताए।
उनका अनुसार राज्य र जनताबीचको द्वन्द्व, शक्ति केन्द्रहरूबीचको प्रतिस्पर्धा, बाह्य तथा आन्तरिक हस्तक्षेप, ध्रुवीकरण र राजनीतिक तानातानले समग्र राजनीतिक वातावरण जटिल बनेको छ। यही परिस्थितिले पार्टी र राज्यबीच पनि संघर्षको अवस्था सिर्जना भएको उनको भनाइ थियो।
‘निर्वाचनबारे अब अन्योल छैन,’ चन्दले भने, ‘तर अहिलेको अवस्था अत्यन्त संक्रमणकालीन छ। हामी निर्वाचनमा जाने तयारी गर्दै कार्य विभाजनसहित अघि बढेका छौँ। तर राज्य र समाजभित्र चलिरहेका विविध संघर्षका कारण निर्णयहरू पनि संक्रमणकालीन ढंगले गर्नुपर्ने अवस्था आएको छ।’
महासचिव चन्दले अहिलेको अवस्था केवल राजनीतिक दलहरूको मात्र नभई सम्पूर्ण नेपाल राज्य नै संक्रमणको चरणमा रहेको टिप्पणी गर्दै त्यसको सामना विचार, संगठन र संघर्षबाट गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार












प्रतिक्रिया