काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुने निर्वाचनका सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा निर्विरोध निर्वाचन भएको छ भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।

advertisement

बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र तोकिएको छ। कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र निर्धारण गरिएको छ।

त्यसैगरी, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुने आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com