काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोप लगाउँदै उजुरी परेको हो।
धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरी र निर्वाचन अधिकृतको कार्यालयमा छुट्टाछुट्टै उजुरी दर्ता गराएको जनाएको छ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २ अन्तर्गत दफा ७ को उपदफा ९(७) अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख छ। तर उम्मेदवार साम्पाङले उक्त कानुनी प्रावधानको उल्लङ्घन गरेको दाबी उजुरीमा गरिएको छ।
धरान नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा छलफल गर्न तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको छ। समितिले उजुरीको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।
बालबालिका ऐनअनुसार बालबालिकाको राजनीतिक प्रयोजनमा प्रयोग गरेको आरोप प्रमाणित भएमा अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेज हुन सक्ने व्यवस्था छ। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया