म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले राम्रो मूल्य पाउने भएपछि माघ लागेपछि मात्र सुन्तला टिपेर बजार पठाउन थालेका छन्। देशका अधिकांश स्थानमा सुन्तला सकिएपछि दोसल्लेका किसानले बजारमा ढिलो सुन्तला पठाउँदा फाइदा लिन सफल भएका हुन्।

स्थानीय किसानका अनुसार यस वर्ष सुन्तलाको मूल्य विगतको तुलनामा उल्लेख्य रूपमा बढेको छ। यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (२० किलो) रु १ हजार ७०० मा बिक्री हुँदै आएको सुन्तला हाल रु २ हजार ५०० मा बिक्री भइरहेको छ। स्थानीय विकास श्रेष्ठका अनुसार किसानलाई सस्तोमा सुन्तला बेच्न नपरोस् भनेर सामूहिक रूपमा मूल्य निर्धारण गरिएको हो।

advertisement

“अन्य स्थानको सुन्तला सकिएकाले व्यापारीहरूले प्रतिक्रेट रु ३ हजार २०० सम्म तिर्न तयार छन्,” श्रेष्ठले भने।

बयालिस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट करिब रु १ करोड ६० लाख आम्दानी भएको थियो। दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाका अनुसार यस वर्ष दाना केही कम भए पनि मूल्य वृद्धि र नयाँ बिरुवामा फल लागेकाले कुल उत्पादन गत वर्षकै हाराहारीमा हुने अनुमान गरिएको छ।

पोखरा र काठमाडौँका व्यापारी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेपछि अहिले गाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। गाउँका सबै घरधुरीले सुन्तलाखेती गरेका छन्। सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि गाउँबाट बसाइँसराइ रोकिएको छ भने पहिले बेनी, पोखरालगायत ठाउँमा गएकाहरू फर्किएर बाँझो जग्गामा सुन्तला रोपण गर्न थालेका छन्।

“पहिले गाउँमा आम्दानीको कुनै स्थायी स्रोत थिएन, अहिले सुन्तलाखेतीले जीवनस्तर नै बदलिदिएको छ,” पाइजाले भने।

दोसल्लेमा हाल करिब १० हजार सुन्तलाका बोट रहेका छन्। २०६८ सालमा माटो परीक्षण गरी व्यावसायिक रूपमा सुरु गरिएको सुन्तलाखेती विस्तार हुँदै गएको छ। परम्परागत धान, मकै, कोदो र भटमास लगाइने खेतबारी अहिले सुन्तलाबगैँचामा परिणत भएका छन्।

नयाँ बोटले फल दिन थालेसँगै आगामी केही वर्षभित्र दोसल्ले गाउँबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने स्थानीयको अनुमान छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com