म्याग्दी । सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङले विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँ–गाउँ पुग्दै पुराना भाँडासँग साटफेर तथा बिक्री गर्ने काम गर्दै आएका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का तामाङसहित अन्य तीन जना व्यापारीले करिब ४५ वर्षदेखि घुमन्ते जीवन बिताउँदै भाँडा व्यापार गरिरहेका छन्।
तामाङसँगै धादिङका चेतबहादुर विक र विसु गुरुङले पिठ्युँमा डोकोभरि भाँडा बोकेर म्याग्दीको सदरमुकाम बेनीसहित जिल्लाका छवटै स्थानीय तहका बस्तीमा पुगेर व्यापार गर्ने गरेका छन्। उनीहरूले पर्वतको अर्मादीमा भाँडा भण्डारण गरेर राख्ने गरेको गुरुङले बताएका छन्।
गाउँमा तीन छोरा र श्रीमती भएका तामाङले बाबुबाजेको पालादेखि यही पेसा गर्दै आएको उल्लेख गरेका छन्। आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार सुरु गरेका हुन् भन्ने यकिन नभए पनि परम्परागत पेसालाई निरन्तरता दिएको उनको भनाइ छ। तामाङले १४ वर्षको उमेरमा पहिलो पटक बाबुसँगै भाँडा बोकेर व्यापार सुरु गरेका थिए र हालसम्म पनि सोही पेसामा संलग्न रहेका छन्।
गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आएका थिए। समूहले चैतको पहिलो सातासम्म यही क्षेत्रमा व्यापार गरेपछि पुनः गाउँ फर्किएर अर्को ठाउँतर्फ जाने योजना बनाउने गरेको उनले बताएका छन्।
डोकोमा नयाँ भाँडा बोकेर गाउँ–गाउँ पुगेर बिक्री तथा साटफेर गर्ने कार्य सिन्धुपाल्चोकका व्यापारीको पुस्तौँदेखिको पेसा भएको उल्लेख गरिएको छ। नयाँ र पुराना भाँडाको मूल्य निर्धारण गरी बराबर मूल्य परेमा साटफेर गर्ने र मूल्य फरक परेमा रकम लेनदेन गरेर कारोबार गर्ने गरिएको गुरुङले बताएका छन्।
गुरुङका अनुसार पछिल्लो समय व्यापार पहिले जस्तो नभएकाले आम्दानी घट्दै गएको छ। वर्षमा एक पटक पर्वत, बागलुङ र म्याग्दी क्षेत्रमा व्यापार गर्न आउने गरेको जनाउँदै सबै खर्च कटाएर मासिक करिब २० देखि २५ हजार रुपैयाँसम्म बचत हुने बताएका छन्।
आधुनिक प्रविधिको विकास, सडक सञ्जालको विस्तार र ग्रामीण क्षेत्रमा बजार पहुँच बढेसँगै स्थानीय बासिन्दा आफैँ बजार पुगेर नयाँ भाँडा खरिद गर्न थालेका छन्। केही वर्षअघिसम्म गाउँघरमा पुराना भाँडा साटफेर गर्ने चलन सामान्य भए पनि हाल डोकोमा भाँडा बोकेर गाउँ–गाउँ हिँड्ने व्यापारीहरू बिरलै देखिन थालेका छन्।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया