काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो। यसअघि विशेष अदालतले यस प्रकरणसँग सम्बन्धित सर्वोच्च अदालतका दुई आदेश झिकाउने निर्णय गरेको थियो।

advertisement

नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिद प्रक्रियामा भएको भ्रष्टाचारमा तत्कालीन सञ्चारमन्त्री बस्नेत संलग्न रहेको आरोप छ। यस प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध भानराइज सोलुसनले २०७६ वैशाख २० गते नेपाल दूरसञ्चार प्राधिकरणले गरेको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। सो रिट २०७६ जेठ २० गते दर्ता भएकोमा सर्वोच्च अदालतले २०७८ वैशाख १४ गते आदेश जारी गरेको थियो।

यही विषयसँग सम्बन्धित अर्को रिट निवेदनमा जारी भएको आदेशको प्रमाणित प्रतिलिपि पनि सर्वोच्च अदालतबाट झिकाउन विशेष अदालतले आदेश दिएको छ।

यसैगरी, उक्त भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीसँग थप बयान लिनुपर्ने देखिएकाले उनलाई बकपत्रका लागि इजलासमा उपस्थित गराउन समेत विशेष अदालतले आदेश गरेको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com