काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय तहका सबै १६५ वटै कार्यसमितिलाई चुनावकेन्द्रित विभिन्न समिति गठन गर्न परिपत्र गरेको छ।
केन्द्रीय निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टीका सबै सम्बन्धित निकायलाई निर्वाचनसम्बन्धी समिति तथा संरचना तत्काल गठन गर्न निर्देशन दिँदै परिपत्र जारी गरेका हुन्।
परिपत्रमा निर्वाचन अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन सबै तहमा आवश्यक समिति र संयन्त्र शीघ्र निर्माण गर्न आग्रह गरिएको छ। कांग्रेसले निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार–प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक तथा धार्मिक संघ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८ देखि ३० वर्ष उमेर समूहका युवालाई परिचालन गर्ने विशेष अभियान समिति, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति तथा अनुगमन समिति गठन गर्न निर्देशन दिएको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। नेपाली कांग्रेसले देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाइसकेको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया