रुकुम पूर्व। जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले भारी हिमपात र वर्षाका कारण अत्यावश्यक काम नपरी यात्रा नगर्न नागरिकलाई अनुरोध गरेको छ।

प्रशासनका अनुसार गएरातिदेखि जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यसले विपद् जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो।

advertisement

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको जनाइएको छ। सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् भने कतिपय यात्रु हिउँमै फसेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमका अनुसार यातायात व्यवसायीलाई मौसमको अवस्था मूल्याङ्कन गरेर मात्र सवारीसाधन सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, हिउँ खेल्न आउने, हिमाल आरोहण तथा पदयात्रामा निस्कने पर्यटकलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस वर्ष रुकुम पूर्वमा यो दोस्रो पटक हिमपात भएको हो। हिमपातका कारण रुकुम पूर्व–बागलुङ सिमानाको पातिहाल्ना क्षेत्रमा सडक करिब तीन फिटसम्म हिउँले ढाकिएको छ। काठमाडौँबाट रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बसहरू हिउँमा फसेका छन्।

काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेका यात्रु किरण शर्माका अनुसार हिउँमा फसेपछि चिसो र भोकले समस्या भएको छ। वरपर होटलसमेत नभएकाले बसबाट ओर्लेर करिब एक घण्टा पैदल हिँडी सिमाना पातिहाल्नामा पुगेर चाउचाउ र बिस्कुट किनेर खानुपरेको उनले बताए। सबै यात्रु त्यहाँसम्म पुग्न सक्ने अवस्थामा नरहेको पनि उनको भनाइ छ।

अवरुद्ध सडक सञ्चालनका लागि बागलुङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी रुकुम पूर्वतर्फबाट हिउँ पन्छाउने काम सुरु गरिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिएकी छन्।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com