काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन् । संविधानलाई धुजाधुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकताबद्ध भएर आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै अध्यक्ष नेपालले भने, ‘एकखालका मानिस थिए– नेपालमा राजतन्त्रलाई फाल्नु बयलगाडा चढेर वासिङ्गटन पुग्नु उस्तैउस्तै कुरा हो भन्थे । बयलगाडाका सिद्धान्तकारहरू अहिले पनि ज्युँदै छन् । त्यो बयलगाडाको दर्शनशास्त्र, त्यो दर्शन शास्त्रमा किताब लेख्नुपर्ने छ, बुद्धिजीवी साथीहरूले । त्यो बयलगाडाले कहाँ–कहाँ पुर्याउँछ ? त्यो यथास्थिति हो, प्रतिगमनकारी हो । त्यो दर्शनलाई अंगाल्ने हो भने राप्रपासँग एकता हुन्छ । त्यो दर्शनलाई अंगीकार गर्ने हो भने देशघातीहरूसँग एकता हुन्छ । त्यो दर्शनलाई आत्मासात गर्ने हो भने यथास्थितिमा रमाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो परिवर्तनमा पक्षपोषक हुन सक्दैन । राष्ट्रियताको हिमायती हुन सक्दैन । समाजवाद आम जनताको जीवनलाई सुःखी बनाउनका लागि, न्याय र समानताको बाटोमा अघि बढाउनका लागि, समृद्धिको बाटोमा अघि बढाउनका लागि त्यसले सहयोग गर्न सक्दैन ।’
ओली धानमन्त्री भएको बेला मुलुक भ्रष्टाचारमा डुबेको नेपालको आरोप थियो । नेपालले ओलीले संविधान, कानुनसमेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहोर्याउँदै त्यसलाई कायमै राखेर अघि बढनुपर्ने बताए ।
प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार
प्रतिक्रिया