काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत मतदाता शिक्षाका लागि आवश्यक नमुना मतपत्र देशभरका सबै जिल्लामा वितरण भइसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी मतदाता शिक्षाका लागि सबै जिल्लामा पठाइसकिएको हो। ती मतपत्र मतदान प्रक्रिया बुझाउन प्रयोग गरिनेछन्।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) अन्तर्गत हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य पूरा भइसकेको छ। बाँकी जिल्लाका मतपत्र भने क्रमशः छपाइ भइरहेको आयोगले जनाएको छ।
प्रवक्ता भट्टराईका अनुसार यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने कार्यतालिका तय गरिएको छ।
यसैबीच, समानुपातिक प्रणालीतर्फका करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने पहिले नै सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया