काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भइसकेको छ। यसपटक निर्वाचन प्रहरी बन्नका लागि कुल २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आवेदकमध्ये ६१ जिल्लाको छनोट नतिजा सार्वजनिक भइसकेको छ। निर्वाचन प्रहरीको आवश्यकताभन्दा कम आवेदन परेका १६ जिल्लामा भने नतिजा प्रकाशनको तयारी भइरहेको उनले जानकारी दिए।

advertisement

उनका अनुसार अपुग दरखास्त भएका जिल्लामा पुनः आवेदन आह्वान गरिएको छ र ती जिल्लामा बुधबार लिखित तथा मौखिक परीक्षाको नतिजा सार्वजनिक गरिनेछ।

छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि १० दिनको तालिम दिइनेछ। तालिम सम्पन्न भएपछि उनीहरूलाई माघ २५ गतेदेखि फिल्डमा परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैबीच, सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्नाको छनोट प्रक्रिया अघि बढाइरहेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले सशस्त्र प्रहरीका निर्वाचन प्रहरी छनोट गरिरहेको छ। सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न लागेको जनाएको छ। प्रारम्भिक छनोटपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम दिनेछ।

यस निर्वाचनका लागि नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्ने योजना बनाएको छ। त्यसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन प्रहरीका आवेदकहरूको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँचसमेत गरिएको छ। यस प्रणालीमार्फत आवेदक अपराधमा संलग्न भएको वा फरार अभियुक्त भए/नभएको जानकारी प्राप्त हुने   व्यवस्था  छ ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com