काठमाडौं। अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) हाजिर जमानीमा रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकीका अनुसार सफल बुधबार साँझ हाजिर जमानीमा छुटेका हुन्।
प्रहरीका अनुसार सफलमाथि महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित गर्दै नकारात्मक अभिव्यक्ति, अपशब्द, गालीगलौज र बेइज्जतीपूर्ण सामग्री सार्वजनिक गरेको आरोप छ। साथै विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता गराउने गरिएको भन्दै आरोप लगाइएको छ।
महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि कारबाही गर्न माग गर्दै माघ ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले माघ १३ गते सफललाई पक्राउ गरेको थियो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया