म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध भएको छ। दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहमा प्राविधिक समस्या आएपछि लुलाङसहित लमसुङ, खोरिया र मरेनी टोलका बासिन्दा विद्युत सेवाबाट वञ्चित भएका हुन्।
विद्युत सेवा अवरुद्ध भएपछि दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीले गुनासो गरेका छन्। लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाका अनुसार रातिको समयमा उज्यालोको अभाव, घरायसी कामकाज, विद्यार्थीको पठनपाठन तथा वडा कार्यालयको सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवा समेत प्रभावित बनेको छ।
साविक लुलाङ गाविस क्षेत्रमा रहेका करिब ३७० घरपरिवारले सो लघुजलविद्युत परियोजनाको विद्युत उपभोग गर्दै आएका थिए। गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रशारण लाइन पुगे पनि लघुजलविद्युत प्रयोग गरिरहेकाले धेरै घरधुरीले मिटर बक्स जडान र वायरीङ नगरेको जनाइएको छ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार केन्द्रीय लाइनको विद्युत पुगिसकेपछि लघुजलविद्युत परियोजना मर्मतका लागि सरकारको आर्थिक कार्यविधिले खर्च गर्न नदिने अवस्था छ। त्यसैले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मिटर बक्स जडान गरेर केन्द्रीय लाइनबाट विद्युत विस्तार गर्ने पहल भइरहेको उनले बताए।
दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउने भएकाले दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रशारण लाइनको विद्युत जोड्न प्राथमिकता दिइएको उपाध्यक्ष पुनको भनाइ छ। यद्यपि, गत जेठमै केन्द्रीय लाइन पुगे पनि हालसम्म खोरिया स्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालनबाहेक अन्य प्रयोजनमा विद्युत प्रयोग हुन सकेको छैन।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया