काठमाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफ्नो कार्यकालको प्रमुख प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको स्वास्थ्य रहेको बताएकी छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधार, नीति निर्माण र प्रभावकारी कार्यक्रम कार्यान्वयनमा आफू केन्द्रित रहने स्पष्ट गरिन्।

मन्त्री गौतमले आफ्नो सम्बोधनमा भनिन्, “मानसिक स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकतालाई मैले सदैव महत्त्व दिएको छु। हाम्रो देशबाट हजारौं नेपाली वैदेशिक रोजगारका लागि विदेश जानुहुन्छ। उनीहरूको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्नु हाम्रो दायित्व हो। यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ।”

advertisement

उनले मातृ–शिशु स्वास्थ्य, मृत्युदर घटाउने कार्यक्रम र स्वास्थ्य प्रणाली सुधारलाई पनि आफ्नो कार्यसूचीको उच्च प्राथमिकतामा राखेको बताइन्। मन्त्री गौतमले भनिन्, “महिलाहरुको स्वास्थ्य र अधिकारबारे उनीहरूले नबोले कसले बोल्छ ? चारवटा प्रदेशमा मातृ–शिशु मृत्युदर अत्यन्त उच्च छ। ती प्रदेशमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेर मातृ–शिशु स्वास्थ्य सुधार गर्ने मेरो प्राथमिकता हो। साथै स्वास्थ्य प्रणालीमा देखिएका कमजोरीहरू—बीमा कार्यक्रम, औषधि नियमन, खरिद बिक्री र आपूर्ति व्यवस्थापनमा सुधार ल्याउनुपर्ने आवश्यकता छ।”

उनले आफूले स्वास्थ्य क्षेत्रको प्रत्येक तहमा व्यावहारिक सुधार र प्रभावकारी निगरानी लागू गर्न चाहेको बताइन्। उनले नर्सिङ एशोसिएशन र स्वास्थ्यकर्मीहरूको हकहित र अधिकार संरक्षणमा पनि जोड दिइन्। मन्त्री गौतमले भनिन्, “जीवनको प्रत्येक चरणमा आफूलाई प्रमाणित गर्दै अघि बढ्नुपर्छ। स्वास्थ्यकर्मीहरू, विशेषगरी नर्सहरूको अधिकार र हितको सुनिश्चितता हाम्रो प्राथमिकता हो। उनीहरूले सुरक्षित र सक्षम वातावरणमा काम गर्न पाउनु स्वास्थ्य सेवाको गुणस्तरका लागि अनिवार्य छ।”

उनले कार्यक्रमको अन्त्यमा यसो जोड दिइन्, “मेरो लक्ष्य केवल योजनाहरु बनाउनु मात्र होइन, ती योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्नु पनि हो। मानसिक स्वास्थ्य, वैदेशिक रोजगारमा गएका नागरिकको स्वास्थ्य, मातृ–शिशु स्वास्थ्य, औषधि आपूर्ति र बीमा प्रणाली—यी सबै विषयमा सुधार ल्याएर जनताको जीवनस्तर उकास्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ।”

यसरी मन्त्री गौतमले आफ्नो कार्यकालको प्राथमिकता स्पष्ट गर्दै स्वास्थ्य क्षेत्रका विविध चुनौती र सुधारका पहललाई समेटेर आगामी दिनमा जनसहभागिता र नीति कार्यान्वयनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com