काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र आगामी पाँच वर्षभित्र ठोस रूपमा उपलब्धि हासिल गर्न सकिने कार्यक्रमहरू समेटेर निर्वाचन घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै अध्यक्ष ओलीले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र तयार भइरहेको जानकारी दिए।
उनले देशलाई पहिलो प्राथमिकतामा राख्दै मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्यसहित घोषणापत्र निर्माण भइरहेको बताए।
अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। एमाले सुदृढ सङ्गठन, व्यापक जनसमर्थन र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै उनले गत भदौमा भएका गतिविधिबाट राष्ट्रियता, लोकतन्त्र र संविधानमा परेको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा तथा सुदृढ राष्ट्रिय एकता कायम गर्न पार्टीले उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने स्पष्ट पारे।
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा आत्मसमर्पणबाट सम्भव नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले आवश्यक पर्दा प्रतिरोध, प्रतिवाद र प्रतिरक्षामार्फत ती मूल्यहरूको रक्षा गरिने बताए।
छलफल कार्यक्रममा सहभागी विज्ञहरूले एमालेको घोषणापत्र जनतालाई प्रत्यक्ष लाभ पुग्ने, कार्यान्वयनयोग्य र यथार्थपरक हुनुपर्ने सुझाव दिएका थिए।
एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया