काठमाडौँ । मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा आज सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सुरक्षाकर्मीले जमेको हिउँ पन्छाएका छन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको टोलीले मंगलबार राति परेको भारी हिमपातले मन्दिर परिसर र मुक्तिनाथ जाने सिँढीमा जमेको हिउँ सफा गरेको हो। हिमपातले मन्दिर र बाटो दुई फिटसम्म हिउँले ढाकिएको थियो, जसले दर्शनार्थीहरूलाई असुविधा र दुर्घटनाको जोखिममा पारेको थियो।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार, सशस्त्र प्रहरीले मन्दिर परिसर, रेलिङ मार्ग, स्नानकुण्ड र १०८ धारासहितका मुख्य स्थानमा जमेको हिउँ पन्छाएर दर्शनार्थीहरूका लागि सुरक्षित वातावरण तयार पारेका छन्।
त्यसअघि भारी हिमपातका कारण अवरुद्ध भएको कागबेनी-मुक्तिनाथ सडक पनि सशस्त्र प्रहरी, जिल्ला सुरक्षा समिति, स्थानीय जनप्रतिनिधि र कोरला सडक आयोजनाको डोजर परिचालन गरेर सफा गरिएको थियो। यसरी सडक सञ्चालनमा आएसँगै शुक्रबार बिहानदेखि यातायात आवागमन पनि सुचारु भएको छ।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार












प्रतिक्रिया