काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं क्षेत्र–४ का पार्टी कार्यकर्ताप्रति आभार व्यक्त गर्दै यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने निर्णय चुनौतीपूर्ण भए पनि सचेत रूपमा गरेको बताएका छन्।
शनिबार पार्टीको निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले २०७० सालमा प्रत्यक्ष निर्वाचित हुने उद्देश्यसहित पहिलोपटक काठमाडौं–४ बाट उम्मेदवारी दिएको स्मरण गरे। उनले २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एक भएर प्रतिस्पर्धामा आए पनि संसदमा पुगेर काम गर्ने अवसर पाएको बताए।
“त्यो बेला परिस्थिति सजिलो थिएन,” उनले भने, “एमाले र माओवादी एक भएका थिए, कांग्रेस केवल २३ स्थानमा मात्र विजयी भएको थियो। म डराएको थिएँ, तर तपाईंहरूले हौसला दिनुभयो। त्यसकै कारण म संसद पुगेँ र काम गर्ने अवसर पाएँ। त्यो अवसर नपाएको भए आज म महामन्त्रीका रूपमा स्थापित हुन सक्दिनथें।”
सभापति थापाले यसपटक काठमाडौंबाट उम्मेदवारी नदिई सर्लाही–४ रोज्नु भावनात्मक रूपमा कठिन निर्णय भएको उल्लेख गरे। “यसपटक काठमाडौं सहज थियो,” उनले भने, “तर धेरै वर्षपछि मन रोयो। अरू बेला आँसु लुकाइन्छ, तर यसपटक चाहेर पनि लुकाउन सकिन। यो ठाउँ छाडेर जाँदा मन निकै पीडामा थियो।”
उनले आफ्ना राजनीतिक यात्रामा पार्टी कार्यकर्ताहरूको योगदान र साथ अमूल्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनको तयारीलाई अझ सुदृढ बनाउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
सभापति थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न हुने जानकारी पनि दिए। साथै, आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ प्रणालीमार्फत वडास्तरबाटै उम्मेदवार चयन गर्ने व्यवस्था लागू गरिने उनले बताए।
“अब नयाँ स्थानीय र प्रदेश निर्वाचनभन्दा अगाडि पार्टीको महाधिवेशन हुन्छ,” थापाले भने, “र त्यसपछि कांग्रेसमा उम्मेदवारको टिकट वडाबाटै प्राइमरीमार्फत चयन हुनेछ।”
उनले अब उम्मेदवारीका लागि आकांक्षीहरूले सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था अन्त्य हुने जिकिर गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाइने बताए।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार













प्रतिक्रिया