काठमाडौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज बनेको छ। आपूर्ति घटेपछि उपभोक्ताले ग्यास अभावको समस्या झेल्न थालेका छन्।
नेपाल आयल निगमका अनुसार सबैभन्दा बढी ग्यास आपूर्ति हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतको क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन सकेको छैन। नेपालमा मुख्यतः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट एलपी ग्यास आयात हुँदै आएको छ।
निगमका अनुसार मथुरा रिफाइनरीबाट भने नियमित रूपमा कोटाअनुसार ग्यास आइरहेको छ। तर बरौनी रिफाइनरी पुरानो प्लान्ट भएकाले बारम्बार मर्मत गर्नुपर्ने अवस्था आउने र त्यसका कारण दुई–चार दिनसम्म ग्यास लोड नै नहुने समस्या देखिँदै आएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बरौनीबाट हाल सीमित मात्रामा मात्र ग्यास आपूर्ति भइरहेको बताए। उनका अनुसार पारादीप र दुर्गापुर रिफाइनरीबाट पनि अपेक्षाभन्दा कम आपूर्ति भइरहेको छ। जाडोयाममा भारतमै ग्यासको खपत बढ्ने भएकाले आईओसीले पहिले आफ्नै आन्तरिक माग पूरा गरेपछि मात्र नेपालतर्फ आपूर्ति गर्ने प्रवृत्तिले समस्या थपिएको उनको भनाइ छ।
जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको खपत सामान्य समयको तुलनामा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ। नेपालमा प्रतिमहिना करिब ४७–४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्नेमा चालु महिनामा आयात ४२–४३ हजार मेट्रिक टनमा सीमित हुने अनुमान गरिएको छ। चार–पाँच हजार मेट्रिक टनसम्म ग्यास कम आयात हुँदा बजारमा अभाव देखिएको संघले जनाएको छ।
बरौनीबाट ग्यास नपाउँदा पारादीप (ओडिसा) जस्ता टाढाका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने अवस्था आउँदा ढुवानी साधनको अभावसमेत समस्या बनेको छ। गाडी समयमै नपुग्दा लोडिङ प्रक्रियामा असर परेको अध्यक्ष चन्दले बताए।
उनका अनुसार ग्यास आयातमा देखिएको समस्या करिब २०–२५ दिनदेखि रहँदै आएको भए पनि बजारमा यसको प्रत्यक्ष प्रभाव पछिल्लो एक–डेढ हप्तादेखि मात्र देखिन थालेको हो। हाल उपलब्ध गाडी प्रयोग गरी ग्यास ल्याउने प्रयास तीव्र पारिएको र क्रमशः आपूर्ति सुधार हुँदै गएको निगम स्रोतले जनाएको छ।
निगमका अनुसार अब एक–डेढ हप्ताभित्र एलपी ग्यासको आपूर्ति क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार













प्रतिक्रिया