काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अनावश्यक रिफरका कारण बिरामीले सास्ती भोग्नुपर्ने र आवश्यक नपर्ने स्वास्थ्य परीक्षणसमेत गर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले यस्तो अभ्यास रोक्न निर्देशन दिइएको हो।

advertisement

बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै आफ्नै संस्थामा उपलब्ध सेवा हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरी बिरामीलाई अन्यत्र पठाउने कार्य स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत रहेको उल्लेख गरेको छ।

परिपत्रमा सेवा प्रदायक स्वास्थ्य संस्थाले आफूले दिन सक्ने सेवा उपलब्ध गराउनुपर्ने र यदि सेवा उपलब्ध गराउन नसक्ने अवस्था भएमा प्रेषण पुर्जी भरी आवश्यक सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा मात्रै बिरामी पठाउन निर्देशन दिइएको छ।

यस्तै, अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजुका क्रममा त्यस्तो सोधभर्ना स्वीकृत नहुने तथा स्वास्थ्य बिमा नियमावली २०७५ को अनुसूची ८ को दफा ४ (ग) अनुसार सम्बन्धित स्वास्थ्य संस्थाको सम्झौता स्थगन वा रद्दसमेत हुन सक्ने बोर्डले चेतावनी दिएको छ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com