काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा आज आइतबार विशेष अदालतमा सुनुवाइ हुँदैछ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणको सुनुवाइ विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा तोकिएको हो।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा अनुसन्धान गरी तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो। निर्णयको फाइल अदालतमा प्राप्त भएपछि आजका लागि पेसी तोकिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ।
नेपालमाथि प्रधानमन्त्री पदमा बहाल रहेका बेला मन्त्रिपरिषद्बाट गलत निर्णय गराएर भ्रष्टाचार गरेको आरोप छ। अख्तियारको अनुसन्धानअनुसार यस प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव (पछि मन्त्री) छविराज पन्त, पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंह तथा सञ्चालक राजेन्द्र सिंह र उमेश सर्राफलगायतको संलग्नता देखिएको छ।
हदबन्दी छुटमा पतञ्जलि आयुर्वेदले काभ्रेपलाञ्चोकमा किनेको सयौँ रोपनी जग्गा गैरकानुनी रूपमा बिक्री गरिएको खुलासा भएपछि अनुसन्धान सुरु भएको हो। २०६४ सालमा नेपालमा दर्ता भएको पतञ्जलि आयुर्वेदले २०६६ सालमा काभ्रेमा ५९० रोपनीभन्दा बढी जग्गा हदबन्दी छुटमा खरिद गरेको थियो। उक्त छुट दिने निर्णय तत्कालीन माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको अख्तियारको दाबी छ।
कानुनअनुसार हदबन्दी छुटमा खरिद गरिएको जग्गा तोकिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न वा बिक्री गर्न पाइँदैन। तर अख्तियारको अनुसन्धानमा करिब ३१५ रोपनी जग्गा गैरकानुनी रूपमा बिक्री गरिएको तथ्य खुलेपछि यसलाई भ्रष्टाचारको मुद्दाका रूपमा विशेष अदालतमा लैजानु परेको हो।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया