काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डालाई केन्द्रमा राखेर घोषणापत्र तयार भइरहेको जानकारी दिँदै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्।
पार्टीका उपसभापति तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले पनि फागुनको पहिलो साता नै चुनावी वाचापत्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार घोषणापत्रमा आगामी पाँच वर्षभित्र पाँच महत्वपूर्ण क्षेत्रमा केन्द्रित भएर काम गर्ने स्पष्ट खाका प्रस्तुत गरिनेछ। जसमध्ये जेन–जी पुस्ताका एजेण्डा, सुशासन तथा प्रणालीगत सुधारका विषय मुख्य प्राथमिकतामा रहनेछन्।
कोषाध्यक्ष अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधार र नीतिगत रूपान्तरण घोषणापत्रका प्रमुख आधार हुने बताइन्। साथै सरकारमा सहभागी भएको पहिलो १०० दिनभित्र १०० वटा प्रमुख काम सम्पन्न गर्ने लक्ष्यसहित त्यसका लागि आवश्यक नीतिगत सुधारका खाका पनि सार्वजनिक गरिने उनको भनाइ छ।
उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न पार्टीले अझ सशक्त, प्रभावकारी र जवाफदेही ढंगले काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन्।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया