काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये १२ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ प्राप्त भइसकेको जानकारी दिए।
उनका अनुसार कानुनी व्यवस्था अनुसार सफाइको अवसर नदिई कुनै पनि कारबाही गर्न नमिल्ने भएकाले आयोगले प्रारम्भिक रूपमा स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको हो।
‘प्राप्त उजुरीहरूमध्ये हालसम्म २३ वटा उजुरी दर्ता भएका छन्। ती उजुरीका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधिएको छ। १२ वटा उजुरीको जवाफ आइसकेको छ,’ भट्टराईले भने, ‘आयोगले कारबाही गर्नुअघि अनिवार्य रूपमा स्पष्टीकरण सोध्नुपर्छ। चित्त बुझ्दो जवाफ आएमा सफाइ दिइन्छ, तर चित्त नबुझे कारबाही गरिनेछ।’
त्यसैगरी, उनले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी तथ्यसहितका उजुरी तथा गुनासो दर्ता गर्न आयोगले छुट्टै इमेल ठेगाना सार्वजनिक गरेको जानकारी दिए।
प्रवक्ता भट्टराईका अनुसार ‘इसीएम डट सिओसी एड द रेट इलेक्सन डट जिओभी डट एनपी’ इमेल ठेगानामार्फत आयोगमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको छ।
‘निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी तथ्यसहित उजुरी गर्नका लागि आयोगको तर्फबाट एउटा इमेल ठेगाना सार्वजनिक गरिएको छ,’ उनले भने, ‘उक्त इमेलमार्फत उजुरी तथा गुनासो दर्ता गर्न सकिनेछ।’
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया