काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह, नाम तथा पहिचान प्रयोग नगर्न सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा रेडक्रसको चिन्ह जेनेभा महासन्धीअनुसार अन्तरराष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएको उल्लेख गर्दै राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि उक्त चिन्ह प्रयोग गर्न कानुनी रूपमा निषेध गरिएको स्पष्ट पारिएको छ।

advertisement

विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोध जनाउने उद्देश्यले रेडक्रसको चिन्ह, नाम, चिन्ह अङ्कित पोसाक वा पहिचान प्रयोग गरिएको गतिविधि देखिएमा यसले रेडक्रस अभियानको निष्पक्षता, तटस्थता, स्वाधीनता तथा विश्वसनीयतामा गम्भीर असर पार्नेछ।”

रेडक्रसले आफ्ना स्वयंसेवक, कर्मचारी तथा पदाधिकारीलाई कुनै पनि प्रकारको चुनावी प्रचारप्रसारमा रेडक्रसको चिन्ह अङ्कित सामग्री प्रयोग गरी संलग्न नहुन विशेष आग्रह गरेको छ। साथै, यदि रेडक्रससँग आबद्ध कुनै पदाधिकारी निर्वाचनमा उम्मेदवार बनेको अवस्थामा उनले औपचारिक रूपमा रेडक्रसबाट अलग भएको घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, विज्ञप्तिमार्फत रेडक्रसका पदाधिकारी तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल, उम्मेदवार वा व्यक्तिको पक्ष वा विपक्षमा समर्थन वा विरोध नगर्न, सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम, प्रदर्शन वा अन्य कुनै माध्यमबाट रेडक्रस अभियानलाई राजनीतिक गतिविधिसँग नजोडिन अनुरोध गरिएको छ।

रेडक्रसको सम्पत्ति, कार्यालय, स्थान तथा अन्य साधन–स्रोत कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रयोग वा उपलब्ध नगराउन समेत नेपाल रेडक्रस सोसाइटीले स्पष्ट आग्रह गरेको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com