काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ताको भागबन्डामा रमाउने पुराना नेताहरूको भीडमा नरहेको स्पष्ट पारेका छन्। नयाँ पुस्ता (जेनजी) र राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले आफूलाई केवल नेता नभई योद्धा र साधारण नागरिकका रूपमा उभ्याएको बताए।
इतिहासका विभिन्न मोडमा जनतासँगै हिँडेको स्मरण गर्दै प्रचण्डले वर्तमानको लडाइँ सत्ताका लागि नभई देशको भविष्य र नयाँ पुस्ताको सपना पूरा गर्नको लागि भएको उल्लेख गरे। उनले आफ्नो जीवनलाई ‘खुला किताब’को रूपमा प्रस्तुत गर्दै आफ्नै आँखा अगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाएको पीडा पोखे।
जीवनको अन्तिम समयमा साथ छाडेर गएकी जीवनसंगिनी र हजारौं सहयोद्धाको बलिदान स्मरण गर्दै प्रचण्डले बताए, “म एक व्यक्तिले जीवनमा गुमाउन सक्ने सबै कुरा गुमाइसकेको छु। यति धेरै पीडाका बाबजुद सहिदहरूको सपना र समृद्ध नेपालको यात्राले मलाई अघि बढ्न प्रेरित गरिरहेको छ।”
नयाँ पुस्ताले उठाइरहेको भ्रष्टाचार अन्त्य, पारदर्शिता, र बलियो सरकारको मागलाई जनयुद्धकै मूल एजेन्डा भएको दाबी गर्दै प्रचण्डले संसदीय खेल र कुर्सीको तानातानले देशलाई पछाडि धकेलेको निष्कर्ष सुनाए। राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अपरिहार्य रहेको उनले दोहोर्याए।
हलिउडको चर्चित संवाद ‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू’ उद्धृत गर्दै प्रचण्डले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताए। उनले भने, “यदि धेरै अघि बिदा भएको भए नायकका रूपमा सम्झिने अवस्था रहे पनि अब देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिन सक्दिन।”
आफ्नो अभावमा मात्र जनताले परिवर्तनको वास्तविक अनुभव गर्न सक्ने दाबी गर्दै प्रचण्डले हार मान्न तयार नभएको स्पष्ट पारे। सामाजिक सञ्जालका भ्रमबाट नबहकिन र स्वतन्त्र चिन्तन गर्न युवाहरूलाई आग्रह गर्दै उनले भने, अब अर्को २० वर्ष ‘ट्रायल एन्ड एरर’ गरेर नयाँ नेता जाँच्ने समय छैन।
युवाहरूले भविष्य खोज्न विदेशिनु नपर्ने, सुशासनयुक्त र समृद्ध नेपाल बनाउने संकल्प गर्दै प्रचण्डले आफूलाई प्रश्न सोध्न र दबाब दिन नयाँ पुस्तालाई आह्वान पनि गरे।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार












प्रतिक्रिया