काठमाडौं । विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएसँगै पार्टीको पुरानो संस्थापन पक्ष यतिबेला पूर्वसभापति शेरबहादुर देउवाको निवास वरिपरि सीमित देखिएको छ। निर्वाचनको संघारमै पार्टी नेतृत्वबाट बाहिरिनुपरेपछि देउवा राजनीतिक रूपमा असहज अवस्थामा पुगेका छन्।

देउवा समूहकै केही नेताहरू गगन थापाको हस्ताक्षरमा टिकट लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। तर देउवा दम्पती स्वयं भने टिकटबाट वञ्चित भएका छन्। त्यसैगरी देउवा खेमाका सीमित नेताहरूले मात्र उम्मेदवारी पाएका छन्, जसले संस्थापन पक्षमा असन्तुष्टि बढाएको छ।

advertisement

यसको प्रभाव आगामी निर्वाचनमा देखिन सक्ने चिन्ता गगन पक्षीय नेता–कार्यकर्तामा देखिन थालेको छ। सभापतिमा निर्वाचित भएपछि गगनले काठमाडौँ–४ छाडेर सर्लाही क्षेत्र रोजेपछि जोखिम झनै बढेको विश्लेषण कांग्रेस वृत्तमा भइरहेको छ। कांग्रेसभित्र प्रचलित पुरानो भनाइ—‘कांग्रेसलाई अरूले होइन, कांग्रेसले नै हराउँछ’—फेरि स्मरण हुन थालेको छ।

२००३ सालको नेपाली राष्ट्रिय कांग्रेसदेखि आजसम्म आइपुग्दा कांग्रेसभित्रको अन्तर्घात पार्टीकै स्थायी समस्या बनेको देखिन्छ। यो त्यही पार्टी हो, जहाँ दाजुले प्रधानमन्त्री बनाएको भाइले नै सरकार ढालिदिन्छ। बीपी कोइरालाको पार्टी हो, जहाँ गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराएका थिए।

पद र प्रतिष्ठाबाट वञ्चित भएपछि गणेशमान सिंह र भट्टराईले फरक धार समातेको इतिहास पनि यही पार्टीसँग जोडिएको छ। सभापतिलाई नै हराउने परम्परा बोकेको कांग्रेसमा अहिले त्यो जोखिमको केन्द्रमा गगन थापा पुगेका छन्।

ठूलो राजनीतिक जोखिम मोलेर विशेष महाधिवेशनमार्फत सभापति बनेका गगनलाई पार्टीभित्रैबाट फेरि अन्तर्घात त हुँदैन भन्ने चिन्ता बढ्न थालेको छ। यही सन्दर्भमा गगनले आफू देउवासँग निरन्तर संवादमा रहेको सार्वजनिक रूपमा बताइसकेका छन्। अर्थात् देउवाको मन जित्ने प्रयास पनि उनीबाट भइरहेको छ।

तर संस्थापन पक्ष देउवामै सीमित छैन। देउवासँग असन्तुष्टहरूको एउटा समूह छ, जसले टिकट नपाएको बदला निर्वाचनमार्फत लिन चाहिरहेको विश्लेषण हुन थालेको छ। पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला, बालकृष्ण खाँडलगायत नेताहरूले यसपटक टिकट पाउन सकेनन्।

यसअघि देउवाबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका अमरेशकुमार सिंह यसपटक रास्वपाबाट गगनविरुद्ध मैदानमा उत्रिएका छन्। देशभर रास्वपाको प्रभाव बढिरहेका बेला अमरेशले त्यसको लाभ उठाउने रणनीति लिएको देखिन्छ। निर्वाचन क्षेत्र परिवर्तन गरेर मधेश झरेका गगनका लागि जित सहज देखिँदैन।

यस्तो परिस्थितिमा गगनमाथि आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धन गर्नुपर्ने दबाब बढ्दै गएको छ। स्रोतका अनुसार त्यसका लागि उनको प्राथमिक रोजाइ एमाले बनेको छ। एमालेले सर्लाही–४ मा गगनलाई समर्थन गर्ने र कांग्रेसले झापा–५ मा एमाले उम्मेदवारलाई समर्थन गर्नेबारे अनौपचारिक संवाद सुरु भएको बताइएको छ। यद्यपि यो विषयले अझै औपचारिकता पाएको छैन।

संवाद सफल भए सर्लाहीमा एमाले उम्मेदवार अमनिशकुमार यादवलाई डमी उम्मेदवार बनाएर गगनलाई सहयोग गर्ने र झापा–५ मा कांग्रेस उम्मेदवार मन्दरा चिमरियालाई डमी बनाउने सम्भावना रहेको स्रोतको दाबी छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि पनि झापा–५ यसपटक सजिलो देखिँदैन। काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपा वरिष्ठ नेता बालेन शाह सोही क्षेत्रबाट उम्मेदवार बनेपछि ओलीलाई चुनौती थपिएको हो।

त्यसमाथि एमालेले अहिलेसम्म कुनै दलसँग गठबन्धन नगरेकाले बालेन भारी पर्न सक्ने अड्कलबाजी बढिरहेको छ। यस्तो अवस्थामा कांग्रेसको समर्थन मिलेमा जित सुनिश्चित हुने एमालेको आन्तरिक मूल्याङ्कन रहेको बताइन्छ।

तर सभापति बनेलगत्तै गगन थापाले कांग्रेसले चुनावमा कसैसँग गठबन्धन नगर्ने निर्णय गरिसकेका छन्। यदि केही सिटमा मात्र भए पनि एमालेसँग सहकार्य गरे भने उनी गम्भीर आलोचनाको घेरामा पर्न सक्नेछन्।

देउवासँग विद्रोह गरेर सभापति बनेका गगनका लागि जसरी पनि चुनाव जित्नु अनिवार्य बनेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व जनताबाट अनुमोदन नहुँदा पार्टीभित्र नकारात्मक सन्देश जाने बुझेका गगनले सर्लाहीमा जित सुनिश्चित गर्न एमालेसँग सहकार्य अपरिहार्य ठानेको स्रोतको दाबी छ।

प्रतिनिधिसभा निर्वाचनपछि बैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने बाध्यता छ। देउवा पक्ष सो महाधिवेशनमा अहिलेको बदला लिने तयारीमा रहेको देखिन्छ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशन देउवा पक्षलाई अस्वीकार्य भएपछि तत्कालीन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पदमुक्त गरिएका थिए। तर त्यसको केही घण्टामै गगन सभापति र विश्वप्रकाश उपसभापति निर्वाचित भएका थिए।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com