बारा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियानको सिलसिलामा बारा पुगेका छन्। सोमबार बिहान सिमरा विमानस्थल पुगेका घिसिङलाई पार्टी कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए।
बारा आगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले आफू पहिलो पटक सिमरा आएको उल्लेख गर्दै अब चरणबद्ध रूपमा देशभर चुनावी अभियान विस्तार गर्ने बताएका छन्। उनले भने, “अहिले हामीले देशव्यापी रूपमा चुनावी अभियान सुरु गरिसकेका छौँ। पहिलो पटक सिमरामा आएको हुँ, अब विस्तारै पूर्वदेखि पश्चिमसम्म जनतामाझ पुग्ने योजना छ।”
उनका अनुसार उज्यालो नेपाल पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाइसकेको छ र विभिन्न निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको छ। पार्टीले उल्लेखनीय सिटमा जित हासिल गर्ने अपेक्षा राखेको उनले बताए।
अध्यक्ष घिसिङले यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको अघिल्लो सहमतिको प्रसंग पनि उठाएका छन्। देश र जनताको माग अनुसार सहमतिको आधारमा अघि बढ्ने सोचसहित रास्वपामा गएको भए पनि त्यो सहमति कार्यान्वयन नभएको उनको गुनासो छ।
“झापा–५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ। जनताले गर्ने निर्णयलाई हामी स्वीकार गर्न तयार छौँ,” उनले भने, “जेन–जी आन्दोलन र जनताको चाहनाअनुसार सबै कुरा छाडेर सहमतिमा जाने प्रयास गरेका थियौँ, तर त्यो व्यवहारमा लागू हुन सकेन।”
देशभर परिवर्तनको माग बढ्दै गएको दाबी गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जनताको आवाज बोकेर चुनावी मैदानमा उत्रिएको बताए।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार












प्रतिक्रिया