काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरू निष्कर्षमा पुगेकाले नेपालको ध्यान अब द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धिमा केन्द्रित रहेको बताए। नेपाल सरकारले व्यापार सहजता, विदेशी लगानी आकर्षण र नवप्रवर्तन प्रवर्द्धनका लागि कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको उल्लेख गर्दै उनले जापानी लगानीकर्तालाई प्राथमिक क्षेत्रहरूमा लगानीका लागि आमन्त्रण गरे।
नेपाल र जापानबीचको सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रसँगै जनता–जनताबीचको सम्बन्धमा पनि विस्तार हुँदै गएको राष्ट्रपति पौडेलको भनाइ थियो। भगवान् बुद्धको शिक्षामा आधारित साझा सांस्कृतिक मूल्य र लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै उनले विकास सहायता, व्यापार, लगानी र पर्यटनमा जापान नेपालको प्रमुख साझेदार रहेको बताए। सो अवसरमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले यस भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया