काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश गम्भीर अवस्थामा पुगेको उल्लेख गर्दै “गिद्धले सिनो लुछेजस्तै लुछिएको देश अहिले अन्तिम सुनामीको तयारीमा रहेको” बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस सार्वजनिक गर्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका हुन् ।

लामिछानेले आगामी निर्वाचनलाई निर्णायक क्षणका रूपमा चित्रण गर्दै पुराना राजनीतिक शक्तिहरूलाई लक्षित गरेका छन् । उनले चुनावमा रोक लगाउन वा जनताको मतलाई कमजोर पार्न गरिने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पारेका छन् ।

advertisement

उनले लेखेका छन्, “मेरो खुला आग्रह छ—खुला मिल होस् वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ ।”

निर्वाचनमार्फत आउने जनमतलाई स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनविद्रोहबाट हटाइसकेको पुरानो संसद् षड्यन्त्रपूर्ण तरिकाले पुनःस्थापना गर्ने कुनै पनि प्रयास, दबाब वा धम्की स्वीकार नहुने बताएका छन् ।

सभापति लामिछानेले फागुन २१ लाई नेपाली राजनीतिक इतिहासको साधारण मिति नभई महत्वपूर्ण माइलस्टोनको रूपमा व्याख्या गरेका छन् । उनका अनुसार, उक्त मितिपछि बन्ने संसद् केवल सत्तापक्ष मात्र होइन, प्रतिपक्षसमेत नयाँ हुनुपर्ने आवश्यकता छ ।

उनले भनेका छन्, “फागुन २१ पछि आउने संसद्‌मा प्रतिपक्षी पनि नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन । यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ ।”

लामिछानेले केही सीमित बिचौलियाको नियन्त्रणमा देशको भविष्य थुनिएको आरोप लगाउँदै अब त्यसको निर्णय जनताको हातमा आएको बताएका छन् । उनले देशको भविष्य लेख्ने जिम्मेवारी मतदाताकै हातमा रहेको उल्लेख गर्दै नागरिकलाई सचेत र दृढ भएर निर्णय गर्न आग्रह गरेका छन् ।

“केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा अब तपाईंहरूको हातमा छ । मात्र तपाईंको हातमा,” उनले स्ट्याटसमा उल्लेख गरेका छन् ।

उनको यो अभिव्यक्तिलाई आगामी निर्वाचनको सन्दर्भमा कडा राजनीतिक सन्देशका रूपमा हेरिएको छ भने रास्वपाको चुनावी रणनीति र भाषिक आक्रामकता अझ तीव्र बन्दै गएको संकेतका रूपमा पनि बुझिएको छ ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com