काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडीमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको उचित उपचार प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।
हिजो बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए। विवाह उत्सवबाट फर्किरहेका आफन्तहरू सवार बस दुर्घटनामा परेको बताइएको छ।
सभापति थापाले जारी गरेको विज्ञप्तिमा उक्त दुर्घटनालाई अकल्पनीय र अत्यन्त पीडादायी भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।
साथै, थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक सबै प्रबन्ध तत्काल गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया