काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई जिताउन आह्वान गरेका छन्। उनले मुलुकको राष्ट्रियता जोगाउन एमालेको नेतृत्वमा सरकार गठन आवश्यक रहेको बताए।
एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा शुक्रबार कैलालीको धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उपमहासचिव भट्टले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले राष्ट्रिय हित र सार्वभौमिकता संरक्षणका लागि एमाले सरकार अपरिहार्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउने दाबी गरे।
उपमहासचिव भट्टले वर्तमान अवस्थामा ‘गुगल हेरेर बोल्ने नेता’ भन्दा पनि देशको भूगोल र जनताको वास्तविक अवस्था बुझेर जनताको साथमा उभिने नेतृत्व आवश्यक रहेको बताए।
उनका अनुसार एमालेले जनताको भरोसा जित्दै आसन्न निर्वाचनमा सशक्त उपस्थिति जनाउनेछ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया